काठमाडौं मंसिर २ गते । राष्ट्रिय जनमत पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । सो पार्टीका नेताहरूले मंगलबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको मुख्यालयमा पुगेर दल दर्ताको प्रमाणपत्र लिएका हुन् । मधेसको सबै समस्या समाधान गर्नका लागि आफूले निर्वाचनमा भाग लिने उद्देश्यका साथ दल दर्ता गरी त्यसको प्रमाण पत्र बुझेको सो पार्टीका नेता इरफान अहमद शेषले बताए । उनले आफूहरूले मधेशको समस्या बुझेकाले समाधान गरेर अघि बढ्ने जिकिर समेत गरे ।

दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको सो पार्टीको चुनाव चिन्ह डोजर रहेको छ । नेता शेषले मधेशमा विद्यमान भ्रष्टाचारलाई डोजर लगाएर समाप्त पार्न आफूहरू सफल हुने दाबी समेत गरे । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि विभिन्न दलहरूले निर्वाचन आयोगमा दल दर्ताको कामलाई अघि बढाएका छन् ।