नेपालगञ्ज । नेपालगञ्जको सडकमा एक साथ स्कुल बस उतारेर प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोध गरिएको छ । विद्यालय शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै आन्दोलनरत निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) ले भदौ ६ गते शुक्रबार देशभर मुख्य सडक र चोकमा स्कुल बस उतारेर नगर परिक्रमा गराउने कार्यक्रम तय भए अनुसार नेपालगञ्जमा पनि स्कुल बस सडकमा उतारेर विरोध जनाइएको हो ।
प्याब्सन नेपालगञ्ज कार्यसमितिले प्याब्सन बाँकेको समन्वयमा वीपी चोकमा सबै स्कुल बस उतारेर नगर परिक्रमा गराएको ‘विरोध कार्यक्रम संयोजक’ एवम् प्याब्सन बाँकेका कोषाध्यक्ष प्रबिण गिरीले बताए । गिरीका अनुसार एक सय बढी स्कुल बस वीपी चोकमा जम्मा भएर राँझा चोक पुगी ट्राफिक चोक फर्किएका थिए । त्यसपछि वीपी चोकबाट पुनः आ-आफ्नो विद्यालयतर्फ गएका हुन् । सरकारले ल्याएको शिक्षा सम्बन्धि प्रस्तावमा आपत्ति जनाउँदै प्याब्सनले देशव्यापी आन्दोलन गरिरहेको छ । शिक्षा विधेयकमा राखिएको १५ प्रतिशत पूर्ण छात्रवृत्तिको प्रावधान हटाउनुपर्ने, विधेयकमा उल्लेख गरिएको ‘निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने’ वाक्यांश पनि हटाउनुपर्ने प्याब्सनको मुख्य माग रहेको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट हालै पारित प्रस्तावले निजी विद्यालयको भविष्य र स्वायत्ततालाई जोखिममा पार्ने भन्दै प्याब्सनले चरणबद्ध कार्यक्रम सार्वजनिक गरेको हो ।
चरणबद्ध आन्दोलनका कार्यक्रम अन्तर्गत प्याब्सनले साउन २९ गते स्थानीय सरकारका प्रमुख र पालिकाका शिक्षा प्रमुखहरुलाई ज्ञापनपत्र बुझाउने, साउन ३० गते जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाईमार्फत ज्ञापनपत्र बुझाउने, भदौ १ गते प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा ज्ञापनपत्र बुझाउने, भदौ २ गते सांसदहरूलाई भेटी ज्ञापनपत्र बुझाउने तथा दिउँसो २ः३० बजे राष्ट्रिय परिचर्चा आयोजना गर्ने, भदौ ३ र ५ गते क्रमशः पालिका र जिल्ला तहका समितिहरूको बैठक बस्ने कार्य सम्पन्न गरिसकेको छ । भदौ ६ गते सडकस्तरमै विरोध प्रदर्शन तथा जनचेतनामूलक गतिविधि सञ्चालन गर्ने कार्यक्रम अनुसार आज देशैभर स्कुल बस चोक तथा सडकमा उतारेर विरोध प्रदर्शन गरिएको हो । प्याब्सनले आन्दोलनका क्रममा आवश्यक परे सेवा अवरुद्ध गर्ने चेतावनी समेत दिएको छ ।






