काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल माइतीघर मण्डला पुगेर उखु किसानहरूसँग धर्नामा बसेका छन् ।उखु किसानहरूको आन्दोलनलाई समर्थन  गर्न पुगेका अध्यक्ष नेपाल उखु किसानहरूसँग धर्नामा बसेका हुन् ।यसअघि आजै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी नयाँ शक्ति पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उखु किसानको आन्दोलनलाई समर्थन गर्न माइतीघर पुगेका थिए ।

सरकारले निर्धारण गरेको अनुदान रकम उपलब्ध नगराएको भन्दै उनीहरूले आइतबारदेखि निरन्तर प्रदर्शनलाई जारी राखेका छन् ।बजेट अभाव देखाउँदै सरकारले किसानलाई दिँदै आएको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट आधा घटाएर ३५ रुपैयाँमा झार्ने निर्णय गरेपछि उखु किसान आन्दोलित भएका हुन् ।

सोमबार उनीहरूले उखु नै बोकेर आन्दोलनमा सहभागी भएका थिए । उनीहरूले अनुदानको रकम घटाउने निर्णय फिर्ता लिन उनीहरूले सरकारसँग माग गरेका छन् ।उखु उत्पादक महासंघको नेतृत्वमा उनीहरूले काठमाडौं केन्द्रित आन्दोलनलाई जारी राखेका हुन् ।सरकारले पहिलेको प्रतिक्विन्टलमा ७० रुपैयाँ कै दरले अनुदान दिने निर्णय नै कार्यान्वयन गर्नुपर्ने उनीहरूको माग छ ।सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र नवलपरासीका किसानहरू प्रदर्शनमा सहभागी छन् ।