नेपालगन्ज : राष्ट्रिय मानव अधिकार आयोगका पूर्वआयुक्त मोहना अन्सारीले दिगो परिवर्तनका लागि मानव अधिकार, समानता र न्यायलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिएकी छन् ।
राज्य, नागरिक समाज र नयाँ पुस्ताबीचको सहकार्यबिना सार्थक परिवर्तन सम्भव नरहेको उनको भनाई छ । नेपालगन्जमा नेप्लीज मेटर्सले आयोजना गरेको ‘समाजको आवश्यकता र दिगो परिवर्तन’ विषयक विचार–विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै अन्सारीले यस्तो बताएकी हुन् ।
‘दिगो परिवर्तन केवल नीति वा कागजमा सीमित हुनु हुँदैन, यो व्यवहारमा देखिनु पर्छ। त्यसका लागि समान अवसर, लैङ्गिक न्याय र सबै वर्गको सम्मान अनिवार्य छ,’ उनले भनिन् । विश्वभर फैलिँदै गएको जेनजी आन्दोलनलाई परिवर्तनको सकारात्मक संकेतका रूपमा व्याख्या गर्दै नयाँ पुस्ता अधिकारप्रति सचेत र अन्यायविरुद्ध आवाज उठाउन सक्षम बन्दै गएको बताइन् ।





