काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर-व्यवस्थापिका मञ्चको १५१ औँ भेलामा भाग लिन असोज ३१ गते जेनेभा जाने भएका छन्।आइतबार अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्रीसँगको भेट नियमित भएको र आफू संघीय संसदको नेतृत्व गर्दै जेनेभा जान लागेको जानकारी गराएको बताएका हुन्।

यस वर्षको अन्तर-व्यवस्थापिका मञ्चको भेलाको मुख्य विषयवस्तु ‘मानवीय मान्यताहरू कायम राख्ने र संकटको समयमा मानवीय कार्यलाई समर्थन गर्ने’ रहेको उनले जानकारी दिए।

अध्यक्ष दाहालले भने, ‘यो नियमित जस्तै पनि हो। मैले दुई-तीन पटक भेटिसकेको छु। असोज ३१ गते म जेनेभा जाँदैछु। अन्तर-व्यवस्थापिका मञ्चको १५१ औँ भेला छ। त्यो भेलामा संघीय संसदको तर्फबाट म सहभागी हुन जाँदैछु। त्यसको बारेमा रिपोर्टिङ गर्नु थियो।उनले अन्तर-व्यवस्थापिका मञ्चको १५१ औँ भेलामा जलवायु परिवर्तनको मुद्दा पनि उठाउने बताएका छन्।