काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई अझै केही दिन आराम गर्न डाक्टरहरूले सल्लाह दिएका छन् ।  स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेल शनिबार महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर उपचारका लागि भर्ना भएका थिए ।स्वास्थ्य परीक्षण र उपचारपछि आइतबार उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो । तर, अस्पतालबाट डिस्चार्ज भए पनि डाक्टरहरूले केही दिन आराम गर्न सल्लाह दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

डाक्टरहरूको सल्लाहसँगै आज तय गरिएको जेनजीका प्रतिनिधिहरूसँग छलफल गर्ने कार्यक्रम नहुने भएको छ । अन्तरिम सरकारमा मन्त्रीमण्डल विस्तार र आफ्ना मागहरू पूरा हुन नसकेको विषयमा राष्ट्रपति पौडेलसँग छलफल हुने कार्यक्रम रहेको थियो। गत शनिबार राष्ट्रपति पौडेलसँग वार्ता गर्ने कार्यक्रम तय भए पनि उनी बिरामी परेका कारण वार्ता हुन सकेको थिएन। त्यसैले, उक्त वार्ता आजका लागि सारिएको थियो।